Header Ads

चर्च ब्वाइजलाई इटहरी गोल्डकप

 इटहरी गोल्डकप फुटबलको चौथो सहभागितामा विजेता बनेको चर्च ब्वाइज १० लाख पुरस्कार जित्न सफल

सुनसरी — चर्च ब्वाइज युनाइटेड क्लबले १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनलमा गत संस्करणको उपविजेता चर्च ब्वाइजले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जित्यो ।

इटहरी गोल्डकपको चौथो सहभागितामा विजेता बनेको चर्च ब्वाइजले उपाधिसँगै १० लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता आर्मीले ५ लाख पायो । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले आर्मीका गोलकिपरको कमजोरीको फाइदा उठाउँदै खेलको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

उनले पोस्टभन्दा अघि बढेका आर्मीका गोलकिपर विकेश कुथुलाई छक्याएर लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । फाइनलको निर्णायक गोल गर्नेबित्तिकै चितवन घर भएका राजेशले बुट खोलेर फोन गरेको अभिनयमा सेलिब्रेसन गरे । उनी म्यान अफ द फाइनलसमेत भए । उनले १० हजार पाए ।

खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बाँकी अधिकांश समय रक्षात्मक खेलेको थियो । आर्मीका खेलाडीले पाएका आधा दर्जन अवसर सदुपयोग गर्न नसक्दा उपविजेतामै सीमित बन्न पुग्यो । शुक्रबार राती विराट गोल्डकप खेलको २४ घण्टा नबित्दै इटहरी गोल्डकपको फाइनल खेल्दा आर्मीका धेरै खेलाडी थकित देखिन्थे ।

सुरुआती एघारमा रहेका आधाभन्दा बढी खेलाडीले अघिल्लो रात बिराट गोल्डकप खेलेकाले उनीहरूको प्रदर्शन चर्च ब्वाइजको तुलनामा फितलो देखिन्थ्यो ।

सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार भए । उनले १ लाख रुपैयाँ पाए । उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यू ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भक्तराज चुनिए । उनीहरूले जनही २० हजार पाए । सर्वाधिक गोलकर्ता डिफेन्डिङ च्याम्पियन सगरमाथाका विमल घर्तीमगर भए ।

चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो भने आर्मीले साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी शुटआउटमा २–१ को जित हात पार्दै चर्च ब्वाइजसँगको फाइनल भिडन्त पक्का गरेको थियो । क्वाटरफाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गरेको थियो । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगिताको कन्ट्रोल लुब्रिकेन्टले मुख्य प्रायोजन गरेको थियो ।


No comments

Powered by Blogger.